कोही यसै आवेगमा
आफ्नै अस्तित्व निमोठ्न
तयार हुने
अनि कोही एकैसाथ
असम्भव लडाई लडेर
मर्दै गर्दा पनि बाँचेको ठान्ने
हो यही विरोधाभासका बीच
यो कुमालेको चक्र
चलिरहेछ अनवरत
नसकी सहन चोटहरु
छोडी हिंडेका
ती गल्ली गल्छेडाहरु
ती तितेपाती जस्ता कलबिक
ऐठन् लाग्ने दिनचर्याहरु
अलि परतिर पुगेपछि
किन यसै प्रिय लाग्ने हुन्
खै के भुल्न पर्ने बाध्यता हो
या भेउ पाउन नसकी
फेद टुप्पो,
हिजो भट्टीमा
या घरै भट्टी बनाएर
अनि आज
भजन गाउदै
मन्दिरमा
या घरै मन्दिर बनाएर
उही मान्छे
यी यस्ता ‘विपरीत’ हरु
घसेटदै घसेटदै
कि वल्लो कि पल्लो छेउ
गुल्टि खेल्दै
यो ‘म’ जाति
या मान्छे जाति
खोजिरहेछ अतीतदेखि
आजपर्यन्त
एउटा सन्तुलन बिन्दु
सजिलो जस्तो लाग्ने यो
‘असजिलो’
पात माथिको
पानीको थोपा झैं
कतिखेर तातेर
वाफ हुने हो
या कतिखेर
यसै कतै खसेर हराउने हो
मेरो जाति
यत्तिका घाउ बोकेर
हुँदै नभएको ‘म’ सृजन गरी
अनन्त देखि
आफ्नै छायाँलाई पिडा दिन
ऊ आफ्नो शरीरमा हतियार चलाईरहेछ।
टोरन्टो, अक्टोबर २९,२०२३
