हे पशुपतीनाथ !
म नाथेले
ध्रिस्टता के गर्न सक्थें र
तिम्रो अस्रद्धा गर्न।
उसबेला तिम्रा आँगनबाट
म उसै पलायन भएको थिएँ
शायद तिमी प्रतिको मेरो विश्वास
डगमगायो होला,
झोंक चल्या बेला
गाली पनि गरें कि !
मेरो भोक मार्न नसक्ने
तिमी के पशुपतीनाथ?
अमेरिका भासिएको छु
पेटको भोक त
तिम्रा आँगनमा पूरा भएकै थियो
अरु भोकहरु थिए
जसले मलाई झोली तुम्बी बोकाएर
हुर्याईदियो यता पाताल तिर
फेरि यो भोक पनि
कति उदेक लाग्दो
के को भोक भनेर
यकिन ठम्याउन सके मर्नु।
अनि फेरि कहिल्यै अघाए त मर्नु।
म हिन्दु
गाई खानेहरुका बीचमा
लसपस त यसै भो उसै
दिग्मिग दिग्मिग गर्दै
बानी परि सकेँ जस्तो छ
तर,
न पाप को डर हो
न भोकको कर
हे पशुपतीनाथ!
मलाई फेरि तिम्रो याद आएको छ
तिमी नभै त नहुने रैछ तर म धाएर तिमी भा ठाउँ किन आउँ ?
म तिमीलाई यतै ल्याउँछु।
एक हुल म जस्तै भोकाहरु मिलेर
तिम्रो विशालता र विराटतालाई
ढुंगामा कैद गर्नेछौं
पानीको वा आकाशको बाटो
जसरी भए पनि तिमीलाई
यहाँ ल्याएर रोप्ने छौँ।
एक दिन तिमी फुल्ने छौ, फल्ने छौ
हुँडारको जस्तो मेरो भोक
यसै मर्ने त छैन
कर्महरुको पुनरावृत्ति हुनेछ नै
अनि हामी भोकाहरु
यसैमा लड्ने छौं
म आउनु पर्ने तिमी भा ठाउँ
तिमी नै म कहाँ आएपछि
आजकल म अलमलमा छु-
तिमी ठूलो कि म ?
म तिमीलाइ पुजौं या
तिमी मलाई ?
-जनवरी २३, २०२३
भोक
Leave a reply
