आत्म मन्थन

श्रिष्टि-सृजन सूचीमा, मेरो नि एक स्थान छ। 
स्वीकारे सह-अस्तित्व, शान्ति, संवृद्धि, मान छ।। 

मेरा प्रश्नहरु आफ्नै, मेरो इश्वर मै त हुँ। 
नगरी प्रश्न स्वयम्मा, किन खोजौं अरुहरु ?

तर्कना मनका यौटै, टुङ्गोमा नपुगि कन। 
यसै यो मन उफ्रेर, डुल्न निस्कन्छ छिन् छिन।। 

बासी आदर्शका खोक्रा, नारा बेच्न म धाउँछु।
उठ्दै विचारका छाल, उक्साएको म पाउँछु।।

नलाई ध्यान आफ्नोमा, अर्काकोमा चियाउँदा। 
भोकै भए पनि आफू, अर्कोलाई हियाउँदा।। 

अहंकारादिले ज्यादै, हुँदा यो मन पोषित। 
एक्लै सम्याउन खोज्दा, बन्यो कि यो कलुषित।।

चुल्बुले मन बाँधेर, बाक्सामा हालि पो दिउँ !
चिरफार गरि मन्को, कि गाँठो फालि पो दिउँ !

डोरी खोज्दैछु त्यो जस्ले, बाँध्न सक्तछ यो मन। 
गाँठो यो मनको चिर्ने, सिपालु एक सर्जन।।

श्रिष्टिको फूलबारीमा अगणित चराचर। 
म यौटा कण यी मध्ये, देखिन्न है बराबर।।

भन्दछन् कण आफैंमा, ब्रह्माण्ड झैं विशाल हो। 
सिक्नु पर्दछ रे देख्न, लगाई ध्यान दृष्टि त्यो।।

मन छारष्ट पारेर, बम्किने पनि मै त हूँ।।
लैबरी तालमा नाच्दै, टिम्किने पनि मै त हूँ। 

भो अब अति भो यस्तो, म गर्छु आत्म मन्थन। 
प्रश्नहरू मलाई नै, म आफै गर्छु चिन्तन।।

Leave a Reply