म संग्ला स्वच्छ मान्छेका, चाहना जब देख्दछु।
सादा सम्पूर्ण झैं लाग्ने, दिनचर्या म भेट्दछु।।
भए तृष्णा नि:संकोच, पूरा ती गर्न लाग्दछन्।
पश्चाताप कुनै छैन, कर्मका पछि भाग्दछन्।।(१)
यहाँ जो ज्ञानको खेती, भुटी दिमाग गर्दछन्।
तिन्को पोषण भुइँ मान्छे, पसिनासँग भर्दछन्।।
भर्दैन पेट खाएर, मसी, कलम, कागज।
न खन्छन् एक बित्ता ती, न जोत्छन् एक आंतर।।(२)
ठान्दछन् चुचुराबाट, सृष्टि गर्ने म नै त हुँ।
चल्या छन् लोकमा जो जे, प्राधिकार म नै त हुँ।।
लागे माया बरा भन्छु, ठिक्क पार्न म जान्दछु।
कथा उनेर सर्लक्कै, आँशु झार्न म जान्दछु।। (३)
आँसु देखेर ऊ रुन्छ, रुँदै ऊ श्रम गर्दछ।
त्यो बाठो आँसु टिपेर, कथा सामग्री भर्दछ।।
थाहा छ बाँच्नको लागि, चाहिन्छ खाटी के कुरा।
तर त्यो गर्न सक्दैन, ऊ ज्ञानी छट्टु छ पुरा।। (४)
ज्ञानको धाकमा चम्क्या, शिल्पी झैं उँचो ठान्दछ।
उनैका गीत लेखेर, उनैको योद्धा ठान्दछ।।
ती बरा सादगी बाँच्ने, ती आफ्नै गीत गाउँछन्।
छट्टुका कल्पना बाँची, खै कसरी रमाउँछन्।। (५)
-(अप्रिल २४, २०२२ । टोरन्टो)
भुँइ मान्छे
Leave a reply
