प्रार्थना प्राप्तिका लागि, अभावै मात्र रैछ झैं।
केही पाए अहंकार, नपाए क्षुद्रता सधैं।।
जे जो छ सृष्टिमा व्याप्त, पाएको ठानी तेत्तिकै।
बिर्सिएर कसैले ता, गरेको त्याग निश्चितै।।
धर्ती घाम र पानी छन्, वायू आकाश छन् ता नि।
यी पाँच तत्वको मूल्य, तिर्न सक्तैन क्वै पनि।।
खै कति धन जोड्ने हो, गरी व्यापार श्वाशको।
सृष्टिको अंग बन्नु नै, के छैन अझ खास त्यो।।
शब्दमा सुख खोज्दैमा, जाकिएको रसातल।
वादमा सत्य पर्गेल्दै, नियाल्दै ज्ञान जंगल।।
मनै हो अति दौडिन्छ, के खोज्न कति सम्म हो।
कहीं पुगिन्न पक्का भो, घोडा चढेर शब्दको।।
भो भयो अब दौडन्न, शब्द जाले यि जंगल।
प्रार्थना प्राप्तिको छाडी, लोकको शुभ मङ्गल।।
-टोरन्टो अन्टेरियो, २७ जुन २०२१
