धर्म क्षेत्र भनिने त्यो, कुरुक्षेत्र चढाइंको।
बाह्र बाँकी रहे थे रे, अन्तिममा लडाइंको।।
हजारौं बन्दछन् प्यादा, धर्म कै नाम खातिर।
धर्मका क्षेत्र मै ज्यादा, लड्दछन् किन आखिर ?
यो स्वार्थी मनको घोडा, बनि उत्पात मच्चिने।
शीरमा हात राखेर, विध्वंस पछि थच्चिने।।
लड्नु स्वार्थ संगै पैल्हा, स्वलाई जित्नु पाप हो ?
आजन्म दासता बाँच्नु, यो कस्तो अभिशाप हो।
आकांक्षा छ जहाँ केवल, सम्पूर्ण आधिपत्यको।
अप्रासंगिक बन्दो छ, भेद सत्य असत्यको।।
प्राप्त भो द्वन्द पश्चात् के? खै शिक्षा इतिहासको ?
कि प्रारब्ध भनि बुझ्नु, लिला हेर्दै विनाशको।।
भोगका लोभले ज्यान, जतासुकै घिसारियो।
लान्छ कि जान्छ कि भन्दै, सोच्दै नीद बिगारियो।
भोगमा लिप्त भै बर्षौं, निद्रामै जिन्दगी गयो।
यता जागृतिको अर्थ, निद्रा नपर्नु पो भयो।।
बेहोसी धन्न साथी छ, लाज ढाक्न सघाउँछ।
चेतना द्वारमा बिर्को, कसेर यो लगाउँछ।।
दिन्छ अलिकता न्यानो, पिसाबको भए पनि।
के सुर्ता भो र यस्तैमा, जिन्दगानी गए पनि।।
-मार्च २७, २०२१ टोरन्टो
बेहोसीको साथ
Leave a reply
