Category Archives: Nepali

कैदी

हुँदा निश्चिन्त, निस्फिक्री, निष्कलंक म बालक।
थिएँ स्वतन्त्र कम्तिमा, मेरो मै थिएँ चालक।।
भोक थ्यो, प्यास थ्यो निद्रा, सुख दुख सुनिश्चित।।
माटो, मैलो, हिलो, खेल्दा, मत्लब थिएन किञ्चित।।

जसै बढ्दै गएँ पढ्दै, अबोध म रहें कहाँ?
लगाएँ बार आफैले, स्वतन्त्र खै भएँ कहाँ?
सोध्न छोडें म विस्तारै, लाग्यो उत्तरको डर।
खोज्न छाडें म विस्तारै, नलागी ज्ञानको भर।।

औषधि चक्की निल्दा झैं, निलें वाद कुनै एक।
नगरी शोध औ खोज, रोग हुन्थ्यो कि नाइँ ठीक।।
गरें त्यै त्यै अह्रायो जो, औषधिरुप वादले।
पटक्कै नसोची कि वा, हुन्थ्यो कि वादविवादले।।

जे मूल्य मान्यता बोकें, अब ती बोक्न सक्तिन।
तिनैका बोझले पिल्सें, भो अब थेग्न सक्तिन।।
हिनताबोध स्वीकार्य, छैन म हार्न सक्तिन।
धीरता छैन रत्तिभर, म ता पर्खिन सक्तिन।

सक्दिन बोल्न म ऐले, सत्य हो त्यो तरै पनि।।
आफ्नो नोक्सान क्यै छैन, आ के बिझाउनु भनी।।
यसरी कैदी मा आफ्नै, लोभ लाभ र मोहको।
मान्दिउन् लोकले भन्ने, लालसा आदि भोकको।

-मे ३, २०२० टोरन्टो (सहित्य समाज टोरन्टो /जुम कविता वाचन )

मेरो छायाँ by मोहनप्रसाद खरेल

विन्टरको चिसो चुलिईरहेको बेला
एक्कासी आइलागेको

यो पारीलो न्यानो घाममा
काठका बाकल बुनेर बनाइएको
वुडबाइन् बिचको त्यो बाटो भएर
नियालिरहेछु

म संगै हिंड्दो मेरो छाँयालाई।

चुनौति दिंदै उज्यालो सेतो घामलाई
मलाई गिज्ज्याईरहेको यो कालो छाँया
यो बिहान म संगसंगै बगरै बगर
अन्टेरियो लेकको पानी भए सम्म आयो
चीसो पानी खेलायो
अनि प्रकृतिले मलाई मुफ्तमा जुराईदिएको
एक सुन्दर बिहानी
टपक्क टिपेर मनभित्र राख्न दियो
म आनन्दविभोर भएँ।
एकै छिन हराएँ म ।

तर प्रश्नहरु उब्जिए यो मनमा
किन यो कालो छायाँ आफैलाई गिज्ज्याउदै
संगसंगै आइरहन्छ ?
किन उज्यालोमा मात्र देख्छु यसलाई म?
किन धेरैजसो बिर्सन्छु यसलाई म?
किन म यसलाई चिनेर पनि नचिने झैं गर्छु?
यो नित्य लुकामारी खेल्ने कालो छायाँलाई
आज अलि बेसी खोज गर्दैछु म
यो त मेरो जन्मेदेखि नै पिछा गरिरहेको रहेछ
म कहिले देख्दोरहेछु, कहिले नदेख्दो रहेछु
यो निरन्तर खबरदारी गर्दो रहेछ लुकेर

यसो भन्दै-
‘म संगै छु, तर अलग्गै छु
यो संगै भएर नि अलग हुने अवस्था कुनै बेला सिद्धिनेछ
तेतिबेला केवल म हुनेछु – केवल कालो छायाँ’

म बिनाको त्यो कालो छायाँ
अथवा मलाइ कप्लक्क निलेर अरु शिकार ढुकी बस्ने
त्यो कालो छायाँ
धन्न संधै संधै पच्छ्याईरहे पनि
कैलेकाँही मात्र देख्दो रहेछु
धन्न संधै संगै भएर पनि नभए झैं प्रतीत हुँदोरैछ
र म जीवन बिन्दास जिउॅदो रहेछु

एक दुई पटक
त्यै वुडबाइन बिचनिर
आशाका सबै जसो त्यान्द्रा चुडिए झैं लाग्या बेला
रुवा जस्तो हलुका पनि हुने यो मन
हज्जारौं टन भारी बोकेको जहाज झैं गर्हौ प्रतीत हुँदा
रुख मास्तिर पट्टिको आकाश सम्म नि नपुग्ला झैं लाग्ने
त्यो लटाईको धागो कतिन्जेल तानी बस्ने
प्रश्नले झटारो हान्दा
मैले मेरो छायाँ निकै गाढा कालो भएको देखेको छु

मन डरायो पनि
तर छायाँले साथ छोडेन
र आज त्यै कालो छायाँकै सामुन्ने
रमाईरहेछु नडराई
यो विन्टरको सौगातस्वरूप प्राप्त
वुडबाइन बिचको न्यानो सुन्दर बिहानीमा

फेब्रुअरी १९, २०१७ पुर्वान्ह ५:२६

दौड

नमरी स्वर्ग देखिन्न, नलडी युद्ध जित्छ को?
कुरा मात्रै कथुरेर, बसेमा लक्ष्य चुम्छ को?
जानै पर्छ कुनै देश, बस्नु हुन्न यसै यहाँ।
बन्नु पर्छ गतिशील, भन्दै आइपुग्यौं यहाँ।।

बर्षभरी कमाएका, नेपाली रुपिया सब।
सकिए शुरुकै मैन्हा, कामको खोज भो तब।।
नयाँ ठाउँ नयाँ काम, सोच संस्कृति सब् नयाँ।
सिक्नै लागे निकै मैन्हा, खोज्दै बुझ्दै यहाँ वहाँ।।
मानियो लाज के गर्नु, सम्झी शान अतीतका।

खोजियो देश फर्किन, लौ सकिन्न भनी यता।।
बिस्तारै बिर्सिए लाज, सङ्घर्ष जो शुरू भयो।
नभनी काम यो वा त्यो, चुपचाप समातियो।।
जो बस्थे घर सम्हाली, गृहिणी भन्ने रोल त्यो।

परिबर्तन भै छुट्टै, नयाँ रोल विकास भो।।
घर संसार् महिलाका, जो पेवापात झैं थिए।
समय क्रमले सारा, विस्तारै ति उखेलिए।।
को जाने काममा कस्ले, घरकाज चलाउने।

छोराछोरी कहाँ राख्ने, को पढ्ने काँ पढाउने।।
रोज्या छौं बस्न विदेश, आ-आफ्नै रुचि बाध्यता।
लाग्या छौं रेसमा सारा, प्रतिस्पर्धा जतातता।।
आ-आफ्नै दुनियामा छन्, छोराछोरी कतिपय।

आफ्नै आमा बुबालाई, भेट्न मौका कुरीरका।।
लौ बर्वाद भयो भन्दै, नछामिकन कान नै।
कागका पछि दौडेर, अकारण् दुख पाए झैं।।
लागियो दौडमा टुङ्गो, नलाइकन लक्ष्यको।

भागियो भीडमा सोच्दै, नसोची यिन पक्षको।।
छुट्यो मैदानमा कोहि, सकेन यदि दौडन।
फुर्सद छैन कसैलाई, संगै जौं भन्न साथमा।।
छुटेकाहरुको पीडा, लेखी सक्नु छ के यहाँ।

दौडनेका र जित्नेका, किस्सा बिक्ने समाजमा।।
तैपनि मनमा लाग्यो, रचना गर्न गीतको।
वास्तवमै जीत हो कि यो, होहल्ला मात्र जीतको।।
निस्ठुरी रेसमा भाग्दा, छुटेका देख्छु सन्तती।

यी कस्ता हुने हुन् भन्ने, चिन्ता लाग्छ कति कति।।
यो कस्तो दौड हो जस्मा, एक्लो दौडन्छ धावक।
जो जस्का निम्ति दौडेको, होलान् छुटिसक्या सब।।
सम्झेर ल्याउॅदा यस्ता, प्रसंग भाग दौडका।

सोच्न बाध्य भएको छु, देखी अस्तित्व खण्डित।।
अपवाद पनि होलान, भीडमा कोहि कोही त।
डटेका काममा मस्त, उद्देश्यमा समर्पित।।

धेरैको कुरा अर्कै छ, द्विविधापूर्ण हालत।
रेस त रोकिने छैन, कहाँ पुग्ने सवाल छ।।

स्वदेश/विदेश

मेरो जन्मदेशमा,
छन ता सबै छन्
रीतिथिति,नियम कानुन
कागजमा।
कसैको कसै माथि विश्वास नभए झैं
अन्धकार लाग्छ भविश्य।

मानौ अब यहाँ घाम लाग्नै छोड्यो
पानी कि पर्दै पर्दैन
कि सम्पूर्ण बगाइदिन्छ
या त बीऊ नै छैन
या उब्जाउ जमीन छैन
यसै कारण होला
ब्याडमा बीजांकुरण
यहाँका लागि नभई
अन्यत्रकै लागि गरिएको
पढाईएको बढाईएको
अन्तैका लागि।

थाहा छैन आफैसित
के छ वा के छैन
न सोध्ने खोज्ने चासो नै छ
जे छ यहाँ दुखै दुख छ
सुख जति टाढा अन्यत्रै छ:
कामै काम छ, दामै दाम छ
दाम त हुने नै भो काम गरे पछि
कामको इज्जत छ रे
जे काम गरे नि राम्रो रे!

गाडी छन् रे
त्यसो त बाटा पनि छन् रे
खुरु खुरु काम गर्छन्,
विरोध गर्ने पनि नियम छ रे
डर पनि छ,
बोल्न देखि बाटो हिड्न सम्म सिक्नु पर्छ रे
डर यसकारण पनि होला
कि ऋण तिर्नु छ
बाँच्नु छ, बचाउनु छ

उही व्यक्ति
यहाँ छाडा पशु जस्तो
उता त संयम, अनुशासित रे,
यहाँ छाडापन नियम जस्तो,
अनुशासन अपवाद
वहाँ अनुशासन नियम जस्तो,
छाडापन अपवाद रे
उही हो व्यक्तिअचम्म लाग्छ!
भन्छन्
त्यसरी नै काम गरे त हुँदो हो स्वदेशमै
तर खोइ काम?

केवल सन्तानको खेति
त्यो पनि वहाँका लागि
खोइ व्यापार? खोइ व्यवसाय?
खोइ सुरक्षा? खोइ बाटो?
जो कमाउन सक्छ ऊ बेइमान
शिक्षक बेइमान, डाक्टर बेइमान,
इन्जिनियर बेइमान, वकिल बेइमान!
नेता बेइमान, सुरक्षाकर्मी बेइमान
कर्मचारीको त झन् के कुरा!

जो जति धेर कमाउछ
ऊ उति धेर बेइमान
जो कमाउन सक्दैन ऊ लाचार
जो बेइमान गर्ने पदमा छैन ऊ दिक्दार!
जहाँ बेइमानीमा इज्जत छ!

शंका गर्नु पर्ने भो
परापूर्व कालदेखि नि यस्तै रैछ हाम्रो देश!
बुद्ध त्यसै जन्मेका होइन रैछन् हाम्रै देशमा
शान्ति नै शान्ति भएको भए
बुद्धको के काम हुन्थ्यो होला र!
फेरि अर्को बुद्ध जन्माउने तयारी मंचन हुदै जस्तो
कति जवाफ दिनु
बुद्ध यहाँ जन्मेका होइनन् भन्नेलाई
बरु तुरुन्तै एउटा अर्को बुद्ध जन्मिए
हुन त बुद्ध जन्मिएर नि
हुने त यस्तै रहेछ।

सेप्टेम्बर २७, २०१३

ठीक/बेठिक

पार्टी पार्टी भनी हामी, बाँधियौं गोठ गोठमा। 
बाराबार भयो पानी, बोकियो लाठि भोटमा।।
देशप्रेम जो उल्था भो, आ-आफ्ना पार्टि प्रेममा। 
रोपिएछ उही बेला, अशान्ति बीज देशमा।। 

गरिन्थ्यो गर्व जे जेमा, यौटा यौटा गरिकन। 
उता छिमेकिले थाले, त्यो त हाम्रो भनिदिन।।
कतिन्जेल गर्नु विरोध, केवल यो फेसबुकमा। 
कतिन्जेल हेर्न पर्ने हो, नाङ्गो नाच मुलूकमा।।

देशको ताल हेर्दा त, विश्व नागरिकै ठीक। 
हो कि झैं लाग्न थाल्यो लौ, के ठीक कुन बेठिक।।
जाउँ कि फर्कि स्वदेश, भन्ने लाग्छ घरीघरी। 
आगो बलिरहेको छ, भैने पो हो कि जुन्किरी।।

उता इष्ट सगा साथी, जान्ने बुझ्ने सबै जना। 
कोही भन्दैन फर्किनु, बाटो लाग्छन् मिले यहाँ।।
लाज गाल सबै रैछन्, पेवापात गरीबका। 
देश प्रेम उनैलाई, शोक सुर्ता समस्ताका।।

व्यंगवाण पनि सुन्छु, देश छोड्ने पलायन। 
भए पैसा पनि सु:ख, पक्कै छैन विदेशमा।।
मूल अस्तित्वको बिर्सी गरौला कति उन्नन्ति। 
सम्झना आउँदो होला, खोज्छौ भुल्न जती उति।।

घाउमा नून खोर्सानी, छरे झैं लाग्छ के गरुँ। 
कि जाउँ दौडिदै फर्की, एक्लै युद्ध शुरु गरुँ ?
गर्ने हिसाब पो हो कि, बर्षौंको व्यभिचारको। 
जन्मदै देखिको पीडा, हिंसा औ अत्यचारको।।

लेखेर कविता मात्रै, पोखेर मनको बह।
खै बस्ने कहिले सम्म, बनेर मूक दर्शक।।
घिसारेर कहाँ सम्म, अस्तित्व एक खण्डित। 
लैजाने प्रश्नको उत्तर, दिने खोज्दैछु पण्डित।। 

-मोहन खरेल, टोरन्टो २०१० 

Click to access thikbethik-poem.pdf