विस्मृतिको धुन

एक सुन्दर संगीत 
ल्याई दिन्छ अनायासै 
सतहमा चेतन मनको 
बारम्बार तिरोहित 
असल भावहरु 
छिचोलेर बाक्लो परत 
विस्मृतिको। 

आङ सिरिङ्ग हुन्छ तत्क्षण 
सोच्दछु तरङ्गिदै –
मानिसलाई बेलाबखत 
मानवता सम्झाई दिने 
शक्ति देखेर ‘कलाको’ । 

परन्तु टिक्दैनन् अलिबेर सम्मन् पनि 
बिर्सिइन्छन् उपकारी सोचहरु 
अनि फर्किइन्छ शनै: शनै: 
आफ्नै लयमा 
उही प्रिय विस्मृतिको लय 
केही अपवादहरु 
बन्दारहेछन् द्रष्टा
सुनेपछि झंकार कलाको
सम्झेर नासो जीवनभरिको
राख्दारहेछन्  संगालेर
र हिंड़दारहेछन् 
बाटो अरु नहिडेको 

निरपवाद म भने
गोता खाईरहेछु
प्रिय मान्दै
विस्मृतिको धुन
र सधै सधैं
हिंडीरहेछु 
तर पुग्दिन कतै पनि
उही बाटो, उही पदचाप
उही धुन विस्मृतिको ।

          -टोरण्टो। २०२१ एप्रिल २५

बेहोसीको साथ

धर्म क्षेत्र भनिने त्यो, कुरुक्षेत्र चढाइंको। 
बाह्र बाँकी रहे थे रे, अन्तिममा लडाइंको।।
हजारौं बन्दछन् प्यादा, धर्म कै नाम खातिर। 
धर्मका क्षेत्र मै ज्यादा, लड्दछन् किन आखिर ?

यो स्वार्थी मनको घोडा, बनि उत्पात मच्चिने। 
शीरमा हात राखेर, विध्वंस पछि थच्चिने।।
लड्नु स्वार्थ संगै पैल्हा, स्वलाई जित्नु पाप हो ?
आजन्म दासता बाँच्नु, यो कस्तो अभिशाप हो।

आकांक्षा छ जहाँ केवल, सम्पूर्ण आधिपत्यको। 
अप्रासंगिक बन्दो छ, भेद सत्य असत्यको।।
प्राप्त भो द्वन्द पश्चात् के? खै शिक्षा इतिहासको ?
कि प्रारब्ध भनि बुझ्नु, लिला हेर्दै विनाशको।।

भोगका लोभले  ज्यान, जतासुकै घिसारियो। 
लान्छ कि जान्छ कि भन्दै, सोच्दै नीद बिगारियो। 
भोगमा लिप्त भै बर्षौं, निद्रामै जिन्दगी गयो। 
यता जागृतिको अर्थ, निद्रा नपर्नु पो भयो।।

बेहोसी धन्न साथी छ, लाज ढाक्न सघाउँछ। 
चेतना द्वारमा बिर्को, कसेर यो लगाउँछ।।
दिन्छ अलिकता न्यानो, पिसाबको भए पनि। 
के सुर्ता भो र यस्तैमा, जिन्दगानी गए पनि।। 
        -मार्च २७, २०२१ टोरन्टो

जनता

जीतेर माथि रहँदा सब बिर्सिदिन्छन् ।
भर्छन् भकारि मिलदै सब लूटिलिन्छन् ।।
सङ्कष्टमा जब परे खनि खाडलै त्यो ।
सम्झे मनैमन खुबै ‘जनता’ छँदैथ्यो ।।
(१)
गर्दै पुकार सहसा ‘जनता’ भनेर ।
यी आँउछन् नजिकमा हितको बनेर ।।
मैले बुझीन ‘जनता’ कुन रैछ कुन्नी ।
आफू म हूँ कि अथवा कि म हैन कुन्नी ।।
(२)
जन्ता जनार्दन भनी खुब ईश ठान्छन् ।
मौका मिलाइकन खुब् यिनि लात हान्छन् ।।
कस्तो विचित्र ‘जनता’ किन भो भकुण्डो ।
सक्तिन चिन्न कहिल्यै उधिनी मखुण्डो ।।
(३)
टेढो रहेछ ‘जनता’ कोही दिक्क मान्छन्।
भेडो रहेछ ‘जनता’ भनि कोही ठान्छन् ।।
घोड़ा बनाइ ‘जनता’ चढिदिन्छ कोही ।
सोडा बनाइ ‘जनता’ पिइदिन्छ कोही ।।
(४)
यो शब्दको सरलता म त छक्क पर्छु ।
यो अर्थको तरलता म त पक्क पर्छु ।।
अर्थ्याउछन् मनखुशी कति शब्द सस्तो ।
लाग्यो मलाइ बहुतै अपमान जस्तो ।।
(५)

फेब्रुअरी ४, २०२१ टोरण्टो





फटाहा माझी

लाजैले लाज मान्यो घिन पनि घिनियो देखि चाला विछट्ठै।
उस्तै टट्टू भरौटे म पनि त उसतै ऊ पनि हेर लट्ठै।।
होमा होहो भन्या छौं टिपिलगि सकिगो कागले कान टाढा।
सोध्दैनौं प्रश्न पैल्है अनि अलि दिनमा हुन्न भन्दो फटाहा।।   
                             (१)
कैयौं वर्षा वितेछन् तर पनि जहिल्यै नाटकै मात्र देख्छु।
ढाल्यौं भन्थे निरङ्कुश् कसरि बुझनु वाद मुर्दा म सुन्छु।।
ब्वाँसा हुन् कि मनुष्ये लड़िझगडि सधैं देश पार्लान् मसान।
फूटे नी छैन लाजै सहनु कति अहो झार्दछन् उत्ति शान।।                              
                             (२)
लोभी पापी कति हुन् तरह तरहका झूटमुटै कति हुन्।
सन्की वानर कति हुन् छलबल अति नै गूटफूटै कती हुन्।।
आकाँक्षा घोर कालो बरु घरनि डढोस् छैन चिन्ता यियत्ती।
यी कस्ता अल्प बुद्धि कुन किसिमका जात रैछन् असत्ती।।               
                             (३)
भैंचालो बाढीपैह्रो विपद जति जती आउँछन् मस्ति यिन्का।
विपत्तीका लूटेरा गरिब मरिरहुन् ती ठुला चाड यिन्का।।   
खै कस्ता माझि पायौं कति समय बिते भेट्नु कैल्हे किनारा।
खै कस्ता पापी भेट्यौं कुरनु अरु कती बन्नु कत्ति विचारा।।                        
                           (४)
गल्ती छोप्ने कुबानी अघिपछि हिंड्दै साथ दिने कुबानी।
दाम्लो बाँध्या पशु झैं लुरुरु लतरिने बानिले भो डुवानी।।
जुटौं सम्पूर्ण साथै हवन मिलि गरौँ दुष्ट आत्मा भगाऔं।
शान्तिका दीप बालौं विचलित नभई पार डुंगा लगाऔं।।                            
                            (५)

  
                           शनिवार जनवरी २३, २०२१ टोरन्टो 

अभिशप्त छु ?

पर्खने धीरता छैन, छैन विश्वास कर्ममा। 
लोभिका लोभले गाँज्दा, बाँटियौं जात धर्ममा।। 
शक्तिको सत्यको लालच्, भो प्रीतिकर खुब् अति। 
मनको सत्यको स्वाद, भयो खल्लो पियो जति।।

छोडेर मनको सुन्न, धनको सुन्न रोजियो।
एकै साथ बहुसत्य, शक्तिको सत्य खोजियो।। 
कतिले पुग्छ था छैन, गन्तब्य जो मिराज भो। 
मेरो जीवन गाडीमा, चालक् अर्कै विराज भो। 

ढुट्यायो सब सिध्यायो, गुडाई अक्करे भिर। 
के जान्थ्यो उसको बा को, थोत्रो पार्यो  सबै तिर।।
रोक्दैन बत्ति रातो छ, मान्छे मार्छ न शोक छ। 
शक्ति उन्माद यो कस्तो, न कुनै रोक टोक छ।।

सम्पत्ति लोभले गर्दा, अपराध् गर्नु जो गरें। 
स्वीकार्न सक्तिन कैल्यै, म परिबन्धमा परें।।
खल्लै होस् मनको सत्य, रोज्न पर्ने उही थियो। 
तत्क्षणको लाभमा पर्दा, सार्है लामो पिडा दियो।।

बर्षौं बिते यसै भन्दै, फेरी बिर्सन्छु ठक्कर। 
मेरो मूल्य म चिन्दिन, फेरी त्यै गोल चक्कर।।
मेरो भाग्य म कोर्दिन, भनें  अर्कै छ चालक। 
म अल्छि खान पल्केको, मेरो अर्कै छ पालक।।

तमाशा हेर्छु म आफ्नै, आफैं तमाश बन्दछु। 
न लाज मान्छु क्यै रत्ति, न गल्ति भयो भन्दछु।।
यो कस्तो चेतना मेरो, म किन परित्यक्त छु?
कि यै नियति लायक् छु, म यो के अभिशप्त छु?

                      -डिसेम्बर २७, २०२० टोरन्टो

ढुंगिएका मनहरु

लड़दा लड़दा
आफैंसँग, आफ्नै सँग
हाडछाला भै सके
विप्रेषणको टेकोमा
उभिएको बजारभित्र
कुपोषणले पिल्टिक्क
पेट निस्केका भोका जीवनहरु
जो चुनाव ताका
बाध्य छन् आफ्नो इमान बेच्न
अभिशप्त छन्
अभिलाषा मार्न।

यता सुकिलाहरुलाई
प्रष्ट्याउनु छैन जसलाई
आफ्ना कर्म कुकर्मको औचित्य
कम से कम जोखिममा
छचल्काउनु छ देशप्रेम
ओकल्नु छ आगो क्रान्तिको
ल्याउनु छ एक ठाउँ
भोकाहरुलाई
र लड्नु छ
फेरी अर्को युद्ध
राष्ट्रवादको

भन्छन् दुई दिनको जीन्दगानी
बिति सके शताब्दी लड्दैमा
आफ्नो यत्ति भन्ने टुंगो छैन
सीमामा गाडेको ढुङ्गो छैन
यी टुंग्याउन नसकिएका युद्धहरुले
ढुंग्याइसके मानिसका मनहरु

इतिहासदेखि वर्तमान सम्म
अझै नाप्दो छु म मानचित्र देशको
भोकाहरुको भोकको
बैशाखी टेकेर।

जुन २८, २०२० टोरन्टो

कवि माधवप्रसाद घिमिरेलाई समझदा





हाँस्दा रुँदा अरु समयमा प्रेममा तिर्सनामा।
साना ठुला सकल वयका प्रिय छौ सिर्जनामा।।
नेपालीका मन छुइ दिने देशका गीत लेख्यौ।
द्रष्टा रैछौ कविसित लुक्या सृस्टिको शक्ति देख्यौ।।

बित्यो यौटा युग तिमी सितै शुन्यमा जो विलायौ।
भुल्ने छैनौं युगयुग समन् सिर्जना जो फुलायौ।
आँखा चिम्ली सयर गरदा श्लोक तिम्रा म भित्र।
सिंचि दिन्छन् मन लहरिका चन्चले डोब भित्र।।

जागृतिका मधुर रचना छन्दमा खास तिम्रा।
वाची कैल्यै पनि नसकिने काव्य सौगात तिम्रा।।
बाँच्यौ लामै सशरीर यहाँ मृत्यु ता सत्य नै हो।
कृति तिम्रा अझ अमर छन् यो पनि सत्य नै हो।।
                                    अगस्ट ३०, २०२० टोरन्टो

भानुलाई सम्झदा

नेपाली छरिएर विश्वभरमा जो जो जहाँ बस्दछौं ।
साझा एक चिनारी यो लिइकन लौ गौरवै गर्दछौं ।।
आ-आफ्ना पनि छन् रितिथितिहरु सम्मान गर्छौं पुरा ।
विपत्ति जब पर्छ साथ सहयोग् बिर्सेर सारा कुरा ।।

(१)

सृस्टीका जती छन् नि विश्वभरमा सुन्दर बहुधा रूप ।
तिन्को वर्णन गर्नलाइ तिमीले भाषा दियौ मज्बुत ।।
काव्यादि रचना र श्लोकहरुमा खोज्छु म तिम्रो छवि ।
नेपाली जनका अमूल्य निधि हौ ए भानु आदिकवि ।।

(२)

घाँसी मार्फ़त प्रेरणा लिइकनै जो प्रश्न स्वयं गर्यौ ।
त्यस्कै उत्तरमा समस्त ढुकुटी साहित्यको जो भर्यौ ।।
रामायण् अनुवाद जो गरीदियौ वाचन् सजिला भए ।
जिब्रामा जनका ती श्लोकहरु ता लौ झुंडीनै पो गए ।।

(३)

घाँसीका जती कर्म कीर्तिहरु छन् ती प्रेरणा श्रोत हुन् ।
भानु झैं मन भित्रबाट सिकदै सम्पूर्ण ओत्प्रोत हुन् ।।
पाऊँ पढ़न र सुन्न गीत कविता फैलाऊँ तिम्रो छवि ।
बाँचून कालजयी बनुन् ति रचना हे भानु आदिकवि ।।

(४)

                             जुलाई २६, २०२० टोरन्टो ।

साक्षी

उस्तै उस्तै लाग्छन् मलाई
भाषाका भाश्यले भत्काएका भावनाहरु
र सृस्टिका भुचालले भत्काएका
मान्छे सहितका घरहरु
आखिर दुवैसँग पिडा र विनाशको
बलशाली सम्भावना रहेछ।
जस्तै
कम छैनन् वचनवाणहरु
घाउहरु पुरिएलान
डोबहरू ता देखिन्छन् नै
स्मृति ताजा गर्न
के डोबहरू काफी छैनन्?

एउटा बढ्दै गरेको पाइलो रोक्छ
अर्कोले फेरि ठेल्छ
सृस्टि निरन्तर कायम छ
मान्छे लम्किरहेछ सँगै।

तर सृस्टि भुचाल मात्र ल्याउदैन
ऋतुहरु फेरिन्छन्
रात पछि दिन
ग्रिष्म पछि शितल
प्रकोप सँगै आउने निदान
यो प्रकृतिको लालच
सृस्टि लम्ब्याउने तिकडम
मेरो भाषामा पनि
सुटुक्क अनुदित हुन्छ।
साक्षी भावले यसो हेर्छु म
‘निराशा’ शब्दले
संगै बोकेको ‘आशा’ जस्तै
भाषाका जादुमयी
अनेक जालझेल
अगणित मायाप्रेमका गीतहरु
कविताहरु
युद्ध, क्रोध, घृणा र शान्तिका

कोरोना झैं कहरहरुका बीच
मान्छे देख्छ-
कति बिते, कति सकियो
केहि क्षणको रोइकराइ
अनि भाषा र सृस्टिले पस्केको
एक टुक्रा लालच
अब पुग्यो भन्न
खै पायो मान्छेले?

काफि रहेछ
यही एक टुक्रा लालच
जिजीविषाका लागि।

नोभेम्बर १५, २०२० टोरोन्टो

तलतिर हेर्दा

मै त हो ती सबै-
सपना, युद्ध, क्रान्ति।
स्वतन्त्रता निम्ति
लड़िएका ती युद्धहरु
शहीदका शहादतका परिणतिहरु
मै त हो ती सबै।

ती नाराहरु मुक्तिका
नेल जेल र यातनाका
जितेका ती विश्वासहरु जनजनका
सरल ती आशाहरु मनमनका
मै त हो ती सबै।

आज म त्यो बेला नसोचेको
यौटा अग़्लो ठाँउमा आइपुगेछु
सलाम छ ती मेरा दृढ़ संकल्पहरुलाई
धन्य ती मेरा अविचलित पाइला
अब मलाई यो स्थान छोड़नु छैन
अब मेरा सारा यत्नहरु
यो मेरो अग़्लो स्थानलाई
स्थाई बनाउन प्रयत्नशील रहनेछन।

विगतका कष्ट र त्यागका
व्याजसहित हिसाब जो खोज्नु छ।
के थाहा, के थाहा
युद्धकालका वाचाहरु
र यो उचाईमा अनुभूत आसक्तिभाव बीच
अकास ज़मीनको फ़रक रहेछ।

क्रान्तिपथमा आश्रय दिनेहरु
ठूलो परिवर्तनको आशा पाली बसेकाहरु
जस्का लागी युद्ध लड़ें, लड़िए
ती सबैलाई यो अग्लाइबाट हेर्दा
साना कमिला जस्ता देख्छु म
न यो दृष्टिदोष हो न स्थान दोष
कतिलाई त मैले कुल्चेर मारीसकें।

अर्को थरी छन जो संगै लड़ेका थिए
अप्ठेरोमा सुझाव दिएथे
बाटो देखाएथे, उपाय सुझाएथे
अहिले पनि खोज़छन मद्दत गर्न
तर ती मलाई अहिले किन हो दुश्मन लाग्छन्
शूल झैं बिज्छन तिनका आलोचनाहरु
किनकी मै त हो ती सबै
मै सर्वज्ञानी, मै कवि

गज्जव स्थानमा पुगेछु
गर्छु भनेको गर्न नपर्ने
गर्दिन भनेको गर्नु पर्ने
प्रस्ट्याउनु, चित्त बुझाउनु नपर्ने
यौटा यस्तो स्थान
जहाँ सम्पूर्ण क्रान्ति विसर्जित हुनेरहेछ
र तेसलाई छोप्न यौटा कविता लेखिने रहेछ
अब कोही भोकले मर्ने छैन
अब कोही रोगले मर्ने छैन
अब कसैले आँसू खसाउनु पर्ने छैन
यो मलाई थाहा छ
किनकी मै त हो ती सबै
म सर्वज्ञानी, म कवि
अग्लो स्थानबाट
तलतिर दृष्टिगोचर गर्छु
र देखेर कमिलाहरु
मुसुमूसु मुस्काउछु
मै त हो ती सबै।

– टोरण्टो मे ३१, २०२०

डढेका सपना

भुत्ते भए सबै सोच, उर्जा शून्य छ जीवन।
देखावटी छ मुस्कान, सारा प्रयत्न कृत्रिम।।
चाहना मनको यौटा, अर्कै भन्छ समाज चैं।
लुरु लुरु लतारिन्छु, नगरी प्रतिवाद क्यै।
-१-

उत्तर खोज्न नपर्ने भो, खडेरी प्रश्नको छ जो।
नयाँ का नाममा केवल, पुरानै लिपपोत भो।।
तै पनि मन मान्दैन, पेलीराख्या छु बालुवा।
जरो उखेलिया रुख्मा, के आउला र पालुवा।।
-२ –
सामर्थ्य छैन बित्ताको, नाप्न निस्क्याछु सागर।
खोतल्न डरले भित्र, खोज्दो छु खुशि बाहिर।।
ती मीठा सपना सारा, बिक्रीमा जब राखियो।
निल्यो बजारले क्वाप्पै, शान्तिको वाग मासियो।।
-३-
बीउ बेचेपछि खेत, बाँझो त हुने नै भयो।
निद्रा बेचेपछि स्वत:, डढ्ने त सपनै भयो।।
डढेका सपना बोकी, हिंड्दै छु म बजारमा।
साँटदै छु नि खुशी सारा, सयमा र हजारमा।।
-४-

जुन ३०, २०१८

सोचाई

यौटा मानिस जन्मियो, सानो सुन्दर देशमा।
अथाह कष्ट झेलेर, लाग्यो अस्तित्व रेसमा।।
खेल्दै प्रकृतिका माझ, भारी घाँस र दाउरा।
बाँची संयोगले तै तै, सर्प बिच्छी र फ़्याउरा।।

हुर्क्यो, पढ्यो, बढ्यो, देख्यो अन्धकार वरिपरि।
बहुरंग सबै फिक्का, सुख अन्तै छ झैं गरि ।।
नदेख्या सुख टाढा थ्यो, चरी झैं उड्न पर्दथ्यो।
बा आमा साथ खोज्दैथे, तर छुट्टिनु पर्दथ्यो।।

उड्यो विरक्तिएको ऊ, त्यागी त्याग्न सके जति।
भूपिको वीर नेपाली, भाग्यो भाग्न सके जति।।
एउटा खुट्टा उतै रैछ, अर्को खुट्टा छ है यता।
दुइ खुट्टा दुई डुंगा, गन्तब्य खै कता कता।।

भ्रान्ति बोकेर मन भित्र नया खै के उमारियो ?
लाग्यो कि बुद्धिमा बिर्को, व्यर्थै वर्ष गुजारियो
झर्को जे बाट लागेर, नया संसार आइयो।
जे जे मा लागि वितृष्णा, भागेको त्यै समाइयो।।

भन्नेहरु केहि भन्थे, भईस् पलायनै भनि ।
कोहि भन्थे अहो बल्ल कमाउने भईस् भनि।।
थालियो जिन्दगी ज्युन, नयाँ शिरा सुरु भयो।
मौका मिल्यो जिवन् चिन्ने, भोक निद्रा गुरु भयो।।

यस्तैमा महिनौं बिते, बिते बर्षहरु पनि।
के नया गरियो सोच्दा, नया त छैन क्यै पनि।।
उही न्यास उही ध्यान, उही सोच उही मति ।
उही गाली उही खेद, प्रसंसा उही स्तुति।।

होड उस्तै छ को जित्ने, उस्तै हुँकार याँ पनि।
छलछाम पनि उस्तै, उस्तै छ नतिजा पनि।।
रिति रिवाज उस्तै छ, थप्न सक्तैन क्वै पनि।
खादो माला अबिर उइ छ, छोड्न सक्तैन क्वै पनि।।

कर्म गर्न अह्राउने, सोचाई रैछ चालक।
नसक्दा फेर्न सोचाई, उस्तै रद्दी छ हालत।।
गर्ने पो हो कि संकल्प, नयाँ सोच समाउन।
सिक्ने पो हो कि क्यै खास, सरल्तामा रमाउन।।

मे १२ -१४ /२०२० टोरन्टो