यात्रा

यात्रा हो यो, जुनिभर यसै, हिंड्नु पर्ने छंदैछ।

गर्मी चीसो, सब सहनु है, टुङ्गोमा पुग्नु नै छ।।

अप्ठेराले, मन कुटु कुटू, खाइदेलान् कुटुक्क। 

मर्दापर्दा, सहन नसकी, रुन पर्ला सुटुक्क।। 

कत्ती आफ्ना, जनहरु छुटे, बास खोज्दा सूदूर। 

कत्ती प्रेमील, मनहरु टुटे, आश रोज्दा यो दूर।।

हेर्दा हेर्दै, दिनहरु बिते, रात बीते अनन्त। 

केर्दा केर्दै, मनमहलमा, खात छीपे बसन्त ।।

माला उन्दै, रहर बटुली, एक्सरो लाइ दिन्छु। 

जस्तो जे होस्, कठिन सजिलो, लौ म ता गाइ दिन्छु।।

रोक्दा रोक्दा, रहर मनका, बन्न चट्टान दिन्न। 

खोला जस्तै, सललल बगी, दिन्छु रोकी म लिन्न।।

आए आँशु, रुन दिनु बगोस्, स्वच्छ बन्ला शरीर। 

गार्हो पर्दा, मन लहरि यो, हुन सक्ला अधीर।।

दैनन्दिन्को, अदल बदली, सृष्टिको रीत नै यो। 

गाऔं सङ्गी, हरपल मधुर, काव्यको गीत यै हो।।

                             -टोरण्टो जुलाई १०, २०२६

तृष्णा

तृष्णाको पिंजडा भित्र, तृष्णामै मुख छोप्दछु । 
तृष्णा कै जल सिंचेर, तृष्णाकै रुख रोप्दछु।।

जरा भित्र पुगे यस्का, लटरम्म फलैफल।
यसैका फेदमा बस्छु, यसैको ध्यान हरपल।।

ज्ञानको उकेरा हाली, ढल्न म दिन्न यो घर।
बटुलेर अहंकार, ढाक्दछु मनका डर।।

जति बर्ष बिते उत्ति, तृष्णा बन्दो छ जब्बर।
मखलेल बनेको छु, यसैको काटि चक्कर।।

सारा उर्जा यसैमा छ, यसैमा जोश जाँगर।
यसैमा गीत क्रान्तिका, यसैमा भव सागर।। 

यसैमा लैबरी भाका, यसैमा काव्य संगीत।
यसैमा सपना बुन्ने, यसैमा मनका मित।।

मेरो वैभव भन्नु नै, तृष्णाको पिंजडा न हो।
बहाना मात्र हुन् बाँकी, तृष्णा नै सेतु आशको।।

यी मेरा शब्दका माला, त्रिष्णाकै अभिव्यक्ति हुन्। 
तृष्णाको  घर बारीका, सम्पत्ति अति प्रिय छन्।।  

लक्ष्मी जयन्ती

भाषा साहित्य नेपाली, जो हाम्रो पहिचान छ। 
भावना अभिव्यक्तिको, ज्ञानको जो मुहान छ। 

फुटाइ सृजना मूल, नथाकी अघि लम्किए। 
साहित्याकासका तारा, बनेर उनि चम्किए। 

साहित्यका सबै विधा, कलम चाले बराबर।
सम्याए सृजना फाँट, बनाएर हराभरा। 

सम्झंदै, देवकोटाको, योगदान अमूल्य त्यो। 
श्रद्धा अर्पण गर्दैछु, विभूति बहुमूल्यको। 

द्विविधा

सिकेका ज्ञानका भुत्ते देखेर धारको रुप।
द्विविधा रात दिन् यौटै, म बोलुँ या बसौं चुप।।
म लेखूँ लेख्न बाँकि क्यै, बचेको म त देख्दिन। 
लेखेर नापियो खै के भयो म अब लेख्दिन।। 

पर्खन्छु केहि दिन् गार्हो, लत छोड्न भयङ्कर।
अर्थ लागोस् नलागोस् क्यै यो अहंकार खातिर।। 
कलम्को दोष निस्केला, डिस्क्लेमर कृपया छ है।
बिना सिद्धि विना ज्ञान, पस्केका शब्दका सबै।। 

मेरो भाषा म बुझ्दिन, अनुभव लेख्न सक्दिन। 
पुनरुक्ति भए लाखौँ, म सिक्न केहि सक्दिन।। 
म बाज्छु जुझ्छु क्यै खास, कुनै चाहिन्न कारण। 
यस्तोमा हुन्छ रे भन्छन्, अज्ञान मूल कारण।।

हुँला अज्ञानि ता के भो, नस्विकारे पुग्यो नि त। 
अस्वीकृति कति सस्तो, सजिलो मनको लत।। 
आशा छ एक दिन् आओस, सकूँ स्वीकार गर्न म। 
भवसागर जो भन्छन्, सकूँ सहज तर्न म।। 

August 31, 2025 (3:30-4:30 PM) Toronto

जिन्दगी

भाषाका भाव भंगिमा, उतारेर मनोदशा । 
जोगाउँदै सकेसम्म, शब्द सृजनको नशा ।।

वहाँदेखि यहाँ सम्म, मिलौं टाढा सुदूरको। 
धर्तीमा पंख फैलाई, शिल्प सिक्दै मुजूरको।।

लालसा छोड्न सक्तिन, रक्षा खातिर स्वत्वको । 
उनेर शब्दका माला, फेर्दै सास् अपनत्वको ।।

जिन्दगी खेल हो भन्छन्, खेल्दैछौँ मस्त चालमा । 
भानुको सम्झना गर्दै, जुटेर हर सालमा ।।

जीत हार कथा बन्छन्, जिन्दगीमा र खेलमा। 
यी भन्दा पर्तिर छुट्टै, सुख शान्ति छ मेलमा।।

मेल होस् मसँग मेरै, नटाढिउँ म मैसँग। 
म मेरो सासको साक्षी, दुख सुख दुवै सँग।।

मीठो सन्दर्भ भानुको, गर्ने आत्म निरीक्षण । 
सच्चिन सिक्न क्यै राम्रो, न्यास ध्यान सुलक्षण ।।

दुख मेट्नु भन्या सास, मेट्नु रैछ बुझौं कुरो । 
गर्दिनु दुख स्वीकार, मेट्नु पर्दैन क्यै कुरो ।।

July 27, 2025

प्रार्थना

विद्याकी श्रोत हे माता, प्रार्थना गर्छु लौ सुन।
म मेरा मनका मैला, फालेर हेर्छु एक छिन।।
यो यौटा सृष्टिको फूल, मान्छेको यो स्वरुपमा।
रीति रिवाजको धन्दा, नित्य चल्दो छ लोकमा।।

वासना लोभमा फस्दै, नित्य कृत्य बढाउँदै।
नामका दामका लागि, फूलपाती चढाउँदै।।
शास्त्रका चाङ खोस्रेर, बन्नु आडम्बरी कतै।
भनेनौ यति पक्का हो, अल्झिएँ म जताततै।।

म मागूँ मागि पुग्दैन, दिएको देख्छु म कहाँ?
छ के मै सँग था छैन, म अन्धो रैछु खासमा।
ख्याल ठट्टा भए औधि, सत्यसँग डराउँदै।
बहाना लाख खोजेर, आफैंसंग हराउँदै।।

हे बन्दे प्रार्थना यै छ, म जानूँ जान्नु व्यर्थ छ।
वितरागी बनूँ, जागूँ , जो स्वीकार्न समर्थ छ। 

(२०२५ फेब्रुअरी १)

किन सिरक किन्न पर्यो?

रनभुल्ल जिन्दगीमा, मन यसै खिन्न भयो
असारमा सार खोज्ने,  काम यौटा भिन्न भयो। 


बिर्सिदिन दुखहरु, बन्दकीमा होशहरु 
राखिदिएँ, खाएँ, पिएँ, ज्यान यसै टिन्न भयो। 
(रनभुल्ल जिन्दगीमा, मन यसै खिन्न भयो।)


ज्ञान भन्छन् ध्यान भन्छन्, भन्छन् काम दाम 
यसै टिन्न उसै टिन्न, म यो टेन्शन लिन्न भयो। 
(रनभुल्ल जिन्दगीमा, मन यसै खिन्न भयो।)


कैलेकाहीं बन्दकीको, होश फिर्ता ल्याउने कुरा 
बिझ्दो रैछ काँडा सरि, ध्यान त्यता दिन्न भयो। 
(रनभुल्ल जिन्दगीमा, मन यसै खिन्न भयो।)


बेहोशी नै होस भन्दा, छिटो मिठो भए पछि 
यसै न्यानो भएकै छ, किन सिरक किन्न पर्यो। 
(रनभुल्ल जिन्दगीमा, मन यसै खिन्न भयो।)

Oct 2024 (मोहन खरेल)

हजार बढी सपनाले

हजार बढी सपनाले, थिची यता आको मान्छे
ज्यूँदो आगो टेक्नु रैछ, कहाँ थिएँ पाको मान्छे।

होला त नि मेरो पनि, भएकै छ संसारको 
भन्ने सोची थात थलो, छोडी टाढा गाको मान्छे।
(हजार बढी सपनाले, थिची यता आको मान्छे) 

 दुख सुन्नु, दुख चिन्नु, हैन रैछ एकै कुरा 
लाड प्यार बाबु आमा, मात्तिएर खाको मान्छे। 
(हजार बढी सपनाले, थिची यता आको मान्छे)


पढ्न जान्नु यौटा कुरा, बाँच्न जान्नु अर्कै रैछ
आफ्नो दुख आफैं सँग, देख्दा राम्रै लाको मान्छे। 
(हजार बढी सपनाले, थिची यता आको मान्छे)


ऐना हेर्दा धुस्रे फुस्रे, आफैलाई चिन्न गारो 
जिन्दगीले उराठ लाग्ने, गीत भेटि गाको मान्छे।
(हजार बढी सपनाले, थिची यता आको मान्छे)

September 2024-Mohan Kharel

बोतल भर्नलाई

भन्छौ कति व्यस्त हो बित्थाँ मर्नलाई,
के गरुँ त मर्नै पर्यो बोतल भर्नलाई। 

सुन्या त हो ‘अति’ गरे ‘खति’ हुन्छ, 
साँच्चै भनुँ छैन फुर्सत “नगर्न” लाई। 

खाँदा नि के मुबाइल हेरी रा भन्छन्, 
के था कति गार्हो छ, भवसागर तर्नलाई। 

हिजो फेरी, कता गा कता पुगेछू,
होशमा भए पो, भौडीमा पर्नलाई। 

याँ बसेर वहाँ नेपालको के चिन्ता गरी रा भन्छौ, 
जहाजै चढ्नु पर्छ र यो मन् ठाउँ सर्नलाई ?

जति नै दौडे नि मन्लाई भेटिएन,
मरिहत्ते गर्या छ यसै भ्रम छर्नलाई। 

(Jan 2, मोहन खरेल)

खै के देख्यौ

खै के देख्यौ त्यस्तो उत्पात्, र तिम्रो हृदयतल सम्म पस्न दियौ। 
सम्झें कोही त रैछ मेरो पनि, जब साथ्मा अबेर सम्म बस्न दियौ।।
(खै के देख्यौ त्यस्तो उत्पात्, र तिम्रो हृदयतल सम्म पस्न दियौ।)

यो काकाकुल प्रेमी, हरपल प्रतीक्षारत एक झरी प्रेम वर्षाको। 
बादल यसै फुट्यो, जब तिम्ले मायाको मलम घस्न दियौ।।
(खै के देख्यौ त्यस्तो उत्पात्, र तिम्रो हृदयतल सम्म पस्न दियौ।)

सामिप्यताको रापतापले, यौवनको कलिलो ज्वरो फुटेको सम्झन्छु। 
जसै तिम्ले प्रेमिल कल्पनासागरमा, डुबुल्किंदै तल सम्म खस्न दियौ।। 
(खै के देख्यौ त्यस्तो उत्पात्, र तिम्रो हृदयतल सम्म पस्न दियौ।)

यौवनको ज्वरोसँग, अलिकति ‘मद’ मिसाइ दिएछौ क्यारे । 
छुट्टिए पछि  तलतल लागिरह्यो, खै कस्तो औडाहामा फस्न दियौ?
(खै के देख्यौ त्यस्तो उत्पात्, र तिम्रो हृदयतल सम्म पस्न दियौ।)

संसारको रीत मान्यौ या मनको मीत, आज छुट्याउन गाह्रो छ।
त्यो एक दिन अचानक जब तिम्ले, आफूलाई आलिङ्गनमा कस्न दियौ।।
(खै के देख्यौ त्यस्तो उत्पात्, र तिम्रो हृदयतल सम्म पस्न दियौ।)
(सम्झें कोही त रैछ मेरो पनि, जब साथ्मा अबेर सम्म बस्न दियौ।।)

-(मोहन खरेल)

(Jan 2)

———————-

तृष्णा

तृष्णाको पिंजडा भित्र, तृष्णामै मुख छोप्दछु । 
तृष्णा कै जल सिंचेर, तृष्णाकै रुख रोप्दछु।।

जरा भित्र पुगे यस्का, लटरम्म फलैफल।
यसैका फेदमा बस्छु, यसैको ध्यान हरपल।।

ज्ञानको उकेरा हाली, ढल्न म दिन्न यो घर। 
बटुलेर अहंकार, ढाक्दछु मनका डर।।

जति बर्ष बिते उत्ति, तृष्णा बन्दो छ जब्बर। 
मखलेल बनेको छु, यसैको काटि चक्कर।।

सारा उर्जा यसैमा छ, यसैमा जोश जाँगर। 
यसैमा गीत क्रान्तिका, यसैमा भव सागर।। 

यसैमा लैबरी भाका, यसैमा काव्य संगीत। 
यसैमा सपना बुन्ने, यसैमा मनका मित।।

मेरो वैभव भन्नु नै, तृष्णाको पिंजडा न हो। 
बहाना मात्र हुन् बाँकी, तृष्णा नै सेतु आशको।।

यी मेरा शब्दका माला, त्रिष्णाकै अभिव्यक्ति हुन्। 
तृष्णाको  घर बारीका, सम्पत्ति अति प्रिय छन्।।  

आशको मोल 

पढ्छु बढ्छु भनिकन यसै फुत्त खुट्टो उचाली।
यूवा  जम्मै भुरुरुरु उडे  हेर लौ देश खाली।। 
हुर्क्या खेल्या जनक जननी साथ सिन्को नभाँची। 
गार्हो पर्दा कसरि सहने धैर्य आदि नसाँची।।

भारी बोकी रहर मनका गुँड छोडी हिंडेका। 
ठिटा ठिटी तरुण वयका देख्दछु एक्लिएका।।
सिधा सोझा कतिपयहरु जो थिए मच्चिएका। 
सिक्दै भोग्दै सकिनसकि ती देख्दछु थच्चिएक।।

हाम्रो आशा अतिशय बढी आज जस्तो सुकै होस्। 
भोली लाई जपतप सबै आज जस्तो दुखै होस्।।
गोता खाँदै मन सगरमा तारा गन्दै बसेको। 
पालो कुर्दै सुख सपनिमा फ्यात्त झन्डै खसेको।।

कस्ले जान्यो सुख बगरिलो माटोमा फुल्नु रैछ। 
उस्ले ठान्यो सुखसयल ता बाटोमा डुल्नु रैछ।।
भन्दा सुन्ने कति जन हुनन् खै कुरा यो बुझेको। 
‘भोगी जान्नू’ नियति हुन गै अप्ठेरो नै सुझेको ।।

राम्रै होला अलि समयमा खेप्न सक्दा पहाड। 
छिट्टै यात्रा शुरु गरि गयौ हिम्मतै चैं नहार।।
ठानें मैले मनबिच सदा ‘सासको’ मोल धेर। 
खै के गर्नू अधिक हुन गो ‘आशको’ मोल हेर।।

-टोरन्टो, २०२३ डिसेम्बर ३०