लाजैले लाज मान्यो घिन पनि घिनियो देखि चाला विछट्ठै। उस्तै टट्टू भरौटे म पनि त उसतै ऊ पनि हेर लट्ठै।। होमा होहो भन्या छौं टिपिलगि सकिगो कागले कान टाढा। सोध्दैनौं प्रश्न पैल्है अनि अलि दिनमा हुन्न भन्दो फटाहा।। (१) कैयौं वर्षा वितेछन् तर पनि जहिल्यै नाटकै मात्र देख्छु। ढाल्यौं भन्थे निरङ्कुश् कसरि बुझनु वाद मुर्दा म सुन्छु।। ब्वाँसा हुन् कि मनुष्ये लड़िझगडि सधैं देश पार्लान् मसान। फूटे नी छैन लाजै सहनु कति अहो झार्दछन् उत्ति शान।। (२) लोभी पापी कति हुन् तरह तरहका झूटमुटै कति हुन्। सन्की वानर कति हुन् छलबल अति नै गूटफूटै कती हुन्।। आकाँक्षा घोर कालो बरु घरनि डढोस् छैन चिन्ता यियत्ती। यी कस्ता अल्प बुद्धि कुन किसिमका जात रैछन् असत्ती।। (३) भैंचालो बाढीपैह्रो विपद जति जती आउँछन् मस्ति यिन्का। विपत्तीका लूटेरा गरिब मरिरहुन् ती ठुला चाड यिन्का।। खै कस्ता माझि पायौं कति समय बिते भेट्नु कैल्हे किनारा। खै कस्ता पापी भेट्यौं कुरनु अरु कती बन्नु कत्ति विचारा।। (४) गल्ती छोप्ने कुबानी अघिपछि हिंड्दै साथ दिने कुबानी। दाम्लो बाँध्या पशु झैं लुरुरु लतरिने बानिले भो डुवानी।। जुटौं सम्पूर्ण साथै हवन मिलि गरौँ दुष्ट आत्मा भगाऔं। शान्तिका दीप बालौं विचलित नभई पार डुंगा लगाऔं।। (५) शनिवार जनवरी २३, २०२१ टोरन्टो
फटाहा माझी
Leave a reply
