पर्खने धीरता छैन, छैन विश्वास कर्ममा।
लोभिका लोभले गाँज्दा, बाँटियौं जात धर्ममा।।
शक्तिको सत्यको लालच्, भो प्रीतिकर खुब् अति।
मनको सत्यको स्वाद, भयो खल्लो पियो जति।।
छोडेर मनको सुन्न, धनको सुन्न रोजियो।
एकै साथ बहुसत्य, शक्तिको सत्य खोजियो।।
कतिले पुग्छ था छैन, गन्तब्य जो मिराज भो।
मेरो जीवन गाडीमा, चालक् अर्कै विराज भो।
ढुट्यायो सब सिध्यायो, गुडाई अक्करे भिर।
के जान्थ्यो उसको बा को, थोत्रो पार्यो सबै तिर।।
रोक्दैन बत्ति रातो छ, मान्छे मार्छ न शोक छ।
शक्ति उन्माद यो कस्तो, न कुनै रोक टोक छ।।
सम्पत्ति लोभले गर्दा, अपराध् गर्नु जो गरें। स्वीकार्न सक्तिन कैल्यै, म परिबन्धमा परें।।
खल्लै होस् मनको सत्य, रोज्न पर्ने उही थियो।
तत्क्षणको लाभमा पर्दा, सार्है लामो पिडा दियो।।
बर्षौं बिते यसै भन्दै, फेरी बिर्सन्छु ठक्कर।
मेरो मूल्य म चिन्दिन, फेरी त्यै गोल चक्कर।।
मेरो भाग्य म कोर्दिन, भनें अर्कै छ चालक।
म अल्छि खान पल्केको, मेरो अर्कै छ पालक।।
तमाशा हेर्छु म आफ्नै, आफैं तमाश बन्दछु।
न लाज मान्छु क्यै रत्ति, न गल्ति भयो भन्दछु।।
यो कस्तो चेतना मेरो, म किन परित्यक्त छु?
कि यै नियति लायक् छु, म यो के अभिशप्त छु?
-डिसेम्बर २७, २०२० टोरन्टो
अभिशप्त छु ?
Leave a reply
