Author Archives: MohanKharel

सन्तुलन खोज

कोही यसै आवेगमा 
आफ्नै अस्तित्व निमोठ्न 
तयार हुने  
अनि कोही एकैसाथ 
असम्भव लडाई लडेर 
मर्दै गर्दा पनि बाँचेको ठान्ने 

हो यही विरोधाभासका बीच 
यो कुमालेको चक्र 
चलिरहेछ अनवरत
नसकी सहन चोटहरु 
छोडी हिंडेका 
ती  गल्ली गल्छेडाहरु 
ती  तितेपाती जस्ता कलबिक 
ऐठन् लाग्ने दिनचर्याहरु 

अलि परतिर  पुगेपछि
किन यसै प्रिय लाग्ने हुन् 
खै के भुल्न पर्ने बाध्यता हो 
या भेउ पाउन नसकी 
फेद टुप्पो, 
हिजो भट्टीमा 
या घरै भट्टी बनाएर 
अनि आज 
भजन गाउदै 
मन्दिरमा 
या घरै मन्दिर बनाएर 
उही मान्छे 
यी यस्ता ‘विपरीत’ हरु 
घसेटदै घसेटदै 
कि वल्लो कि पल्लो छेउ 
गुल्टि खेल्दै 
यो ‘म’ जाति 
या मान्छे जाति 
खोजिरहेछ अतीतदेखि 
आजपर्यन्त 
एउटा सन्तुलन बिन्दु 

सजिलो जस्तो लाग्ने यो 
‘असजिलो’
पात माथिको 
पानीको थोपा झैं 
कतिखेर तातेर 
वाफ हुने हो 
या कतिखेर 
यसै कतै खसेर हराउने हो 
मेरो जाति 
यत्तिका घाउ बोकेर 
हुँदै नभएको ‘म’ सृजन गरी 
अनन्त देखि 
आफ्नै छायाँलाई पिडा दिन 
ऊ आफ्नो शरीरमा हतियार चलाईरहेछ। 

टोरन्टो, अक्टोबर २९,२०२३ 

एकतर्फी माया

त्यो एक दिन त्यो एक छिन देखियौ कसरी 
के उल्का भयो यो मुटु भित्र लेखियौ कसरी। 
मनैमा रोपें मायाको बिउ मनैमा लुकाएँ 
आँशुको भेल भिजेका बेला मनैले सुकाएँ। 

देखिएँ कति पारेर मौका पढ्छौ कि भनेर 
बुझेर व्यथा यो दिल भित्र अड्छौ कि भनेर। 
इशारा व्यर्थ गए हुन् कति लाचार भएँ म 
टुटेको मन इलाजै बिना विदेश गएँ म। 

फर्केर आएँ सौगात ल्याएँ खै दिउँ कसरी 
नपर्खी अन्तै गएकी भए मै जिउँ कसरी। 
मनको भाषा मनकै आशा राखेर मनैमा 
उकुचै पल्ट्या लिएर घाउ हाँसू म कसरी। 

पिएर तिर्खा हरेक दिन बाँचू म कसरी
फुट्ला झैं भाको यो मुटुसँग नाचूँ म कसरी। 
संसार हेर्छु बिरानो लाग्छ छैन भर् कसैको 
पोखिने डर यो बह मनको साँचू म कसरी। 

उकुचै पल्ट्या लिएर घाउ हाँसू म कसरी
पिएर तिर्खा हरेक दिन बाँचू म कसरी। 

उछिट्टीएको पुल

सबैका कथा छन् सबैका व्यथा छन्। 
कथा मै जुट्या  छन् कथा मै फुट्या छन्।।
कुनै रङ्ग भर्छन् त सङ्गीत कोही। 
कुनै काव्यधारा रङमन्च कोही।।

कथा कल्पना सीप शिल्पी हजार।
छ संसारको यो अनौठो बजार।।
उडें माथि कोशौं धरा ओर्लनू ता। 
छँदै थ्यो भएको कथा लेखिनु ता।।

पखेटा पलाए र जो उडे अकास। 
कुना कन्दरामा चलाए बतास।।
सँगै बस्न गाह्रो छ छुट्टिन गाह्रो। 
बताउँ भने यो छ लाजै पसारो।।

गुँडै भत्किएको चरी झैं छ हाल। 
छ मानो यता मन् पुगी गो हिमाल।।
बनेको छ सेतू नछोई किनारा। 
न उँभो छ जोड्ने न उँधो इसारा।।

म चिन्डो भिरैको जसै लाग्न थाल्यो। 
भयो के भनी चिन्तन जाग्न लाग्यो।।
सकारेर मिथ्या म बाँचीरहेको। 
नकारेर सत्य म नाँचीरहेको।।

उकाली र द्यौरालि संधै घुमेका। 
अनायास स्वस्फूर्त प्रेम्ले चुमेका।।
भए छोडिएका मनै तोडिएका।
कतै स्वार्थले मार्ग त्यो मोडिएका।।

जती पल्ट फेरा लगाउँ म विश्वको। 
जती पल्ट ध्यानै लगाउँ म ईशको।।
यही एक ठाडो छ प्रश्न मलाई। 
घिसार्दै छ दिन्दिन यस्ले गलाई।।

स्वदेशै नछामी नचिनी हिंडे कि!
म बाँच्नै नजानी नपर्खी हिंडे कि !
-मार्च २५, २२३ टोरन्टो 

स्वतन्त्रता

आफूले आफैलाई उपल्लो श्रेणीमा 
विराजमान गराइ आएको 
‘मानव’ जाति 
जो आफ्नै ‘मन’ को दासताबाट 
मुक्ति खोजिरहेछ 
उही मान्छे 
मृत्यू पर्यन्त 
हर हमेशा 
मानव या मानवेतरको 
साथ सहयोगमा 
बाँच्छ, सके जति हाँस्छ, नाच्छ 

कतिपय निजि लाग्ने विषय 
सगौरव सार्वजनिक गर्छ 
अनि वाक्क लागे पछि 
वकालतमा लाग्छ 
वैयक्तिक स्वतन्त्रताको 
र आशा गर्छ 
त्यसमा अरुले उसलाई साथ दिउन् 
रहर गर्छ 
टापू बनाएर उस्तै उस्ताको 
विना कुनै छेकबारको – ‘मनमा’ ‘मुखमा’ 
‘स्टीअरिंग’ मा। 

तर त्यो टापू सानो लाग्ने छ
अलि दिनमा 
दिक्क लाग्नेछ सिमित हुन
अरुहरु चाहिने छन् 
जाँदा जाँदै सिमाना पारि 
छेक्ने छन् फेरि 
र भोगी आएको सत्य-
ब्रेक लाग्दोरहेछ यात्रामा जीवनको 
पूर्ण विराम अघि अनेकौं पटक 
अल्प विराम, अर्ध विराम 
बाढी, पहिरो, भूचाल, आँधीहुरी 
र यो भाइरस। 

कोही भने ‘स्वतन्त्रता’ बन्धक बनाइ 
स्वतन्त्रता खोजिरहेछन् 
छुट्याउन कठिन भो-
जीवन प्यारो कि 
स्वतन्त्रता।

खलनायक

भाग दौडको यो जीवनमा 
महिमा गीत जति सुकै गाए पनि नायकको 
के काम नायकको बिना खलपात्र ?
त्यसर्थ आफूलाई 
कृतज्ञतार्थ खलानायकको 
उभ्याउँदै छु म। 

नायकै त हो खलनायक 
अरुका लागि खलपात्र भए पनि 
उसको त ऊ नायकै हो 
र हो विपक्षीको नायकत्वको 
परिक्षणको कसी। 

कति निरस हुन्थ्यो होला जीवन 
अभावमा खलपात्रको 
द्वन्द रहित, द्विविधा रहित 
विध्न रहित, एक नासको, एक तमासको 
उच्चाट लाग्दो, 
बिना नुन मसलाको तरकारी जस्तो 
बिना भ्रष्टाचारको सरकारी जस्तो। 

म अब फिर्ता लिन्छु 
खलनायक प्रति खर्चेका 
घृणा या तिरस्कारका भावहरु 
मलाई उद्वेलित बनाइरहने 
मेरो निद्रामा खलल पुर्याउने 
मेरो अमनको शत्रु 
जसले मलाई जीवन्त बनाउन 
खर्चेको उर्जाको 
कसरी गरुँ म भरपाई ?

मलाइ जुझारु बनाउने 
श्रिष्टिका यावत अवरोधहरु हो !
बिना उतार चढावको 
बिना घस्रणको, 
बिना चार्ज बिना रिचार्जको 
बिना तिमीहरुको एक्लो म कसरी कल्पना गरुँ ?
म निरन्तर युद्धमा छु 
या भनुँ जीवनमा छु निरन्तर 
कुरा एकै त हो-
विना उद्देश्यको बाँच्नु 
या बिना खलनायकको नायक हुनु 
या मेटिनु खलनायकद्वारा 

खलपात्र, 
धेरै धन्यवाद मेरो तिमीलाई 
म तिम्रो महत्व बुझ्दैछु।

आत्म मन्थन

श्रिष्टि-सृजन सूचीमा, मेरो नि एक स्थान छ। 
स्वीकारे सह-अस्तित्व, शान्ति, संवृद्धि, मान छ।। 

मेरा प्रश्नहरु आफ्नै, मेरो इश्वर मै त हुँ। 
नगरी प्रश्न स्वयम्मा, किन खोजौं अरुहरु ?

तर्कना मनका यौटै, टुङ्गोमा नपुगि कन। 
यसै यो मन उफ्रेर, डुल्न निस्कन्छ छिन् छिन।। 

बासी आदर्शका खोक्रा, नारा बेच्न म धाउँछु।
उठ्दै विचारका छाल, उक्साएको म पाउँछु।।

नलाई ध्यान आफ्नोमा, अर्काकोमा चियाउँदा। 
भोकै भए पनि आफू, अर्कोलाई हियाउँदा।। 

अहंकारादिले ज्यादै, हुँदा यो मन पोषित। 
एक्लै सम्याउन खोज्दा, बन्यो कि यो कलुषित।।

चुल्बुले मन बाँधेर, बाक्सामा हालि पो दिउँ !
चिरफार गरि मन्को, कि गाँठो फालि पो दिउँ !

डोरी खोज्दैछु त्यो जस्ले, बाँध्न सक्तछ यो मन। 
गाँठो यो मनको चिर्ने, सिपालु एक सर्जन।।

श्रिष्टिको फूलबारीमा अगणित चराचर। 
म यौटा कण यी मध्ये, देखिन्न है बराबर।।

भन्दछन् कण आफैंमा, ब्रह्माण्ड झैं विशाल हो। 
सिक्नु पर्दछ रे देख्न, लगाई ध्यान दृष्टि त्यो।।

मन छारष्ट पारेर, बम्किने पनि मै त हूँ।।
लैबरी तालमा नाच्दै, टिम्किने पनि मै त हूँ। 

भो अब अति भो यस्तो, म गर्छु आत्म मन्थन। 
प्रश्नहरू मलाई नै, म आफै गर्छु चिन्तन।।

भोक

हे पशुपतीनाथ !
म नाथेले
ध्रिस्टता के गर्न सक्थें र 
तिम्रो अस्रद्धा गर्न। 

उसबेला तिम्रा आँगनबाट 
म उसै पलायन भएको थिएँ 
शायद तिमी प्रतिको मेरो विश्वास 
डगमगायो होला,
झोंक चल्या बेला
गाली पनि गरें कि !
मेरो भोक मार्न नसक्ने 
तिमी के पशुपतीनाथ?
अमेरिका भासिएको छु 
पेटको भोक त 
तिम्रा आँगनमा पूरा भएकै थियो 
अरु भोकहरु थिए 
जसले मलाई झोली तुम्बी बोकाएर 
हुर्याईदियो यता पाताल तिर 

फेरि यो भोक पनि 
कति उदेक लाग्दो 
के को भोक भनेर 
यकिन ठम्याउन सके मर्नु। 
अनि फेरि कहिल्यै अघाए त मर्नु। 

म हिन्दु 
गाई खानेहरुका बीचमा 
लसपस त यसै भो उसै 
दिग्मिग दिग्मिग गर्दै 
बानी परि सकेँ जस्तो छ 
तर,
न पाप को डर हो 
न भोकको कर 
हे पशुपतीनाथ!
मलाई फेरि तिम्रो याद आएको छ 
तिमी नभै त नहुने रैछ तर म धाएर तिमी भा ठाउँ किन आउँ ?
म तिमीलाई यतै ल्याउँछु।

एक हुल म जस्तै भोकाहरु मिलेर 
तिम्रो विशालता र विराटतालाई 
ढुंगामा कैद गर्नेछौं 
पानीको वा आकाशको बाटो 
जसरी भए पनि तिमीलाई 
यहाँ ल्याएर रोप्ने छौँ। 

एक दिन तिमी फुल्ने छौ, फल्ने छौ 
हुँडारको जस्तो मेरो भोक 
यसै मर्ने त छैन 
कर्महरुको पुनरावृत्ति हुनेछ नै 
अनि हामी भोकाहरु 
यसैमा लड्ने छौं 
म आउनु पर्ने तिमी भा ठाउँ 
तिमी नै म कहाँ आएपछि 
आजकल म अलमलमा छु-
तिमी ठूलो कि म ?
म तिमीलाइ पुजौं या 
तिमी मलाई ?
-जनवरी २३, २०२३

भुँइ मान्छे

म संग्ला स्वच्छ मान्छेका, चाहना जब देख्दछु। 
सादा सम्पूर्ण झैं लाग्ने, दिनचर्या म भेट्दछु।। 
भए तृष्णा नि:संकोच, पूरा ती गर्न लाग्दछन्।
पश्चाताप कुनै छैन, कर्मका पछि भाग्दछन्।।(१)

यहाँ जो ज्ञानको खेती, भुटी दिमाग गर्दछन्। 
तिन्को पोषण भुइँ मान्छे, पसिनासँग भर्दछन्।।
भर्दैन पेट खाएर, मसी, कलम, कागज। 
न खन्छन् एक बित्ता ती, न जोत्छन् एक आंतर।।(२) 

ठान्दछन् चुचुराबाट, सृष्टि गर्ने म नै त हुँ। 
चल्या छन् लोकमा जो जे, प्राधिकार म नै त हुँ।। 
लागे माया बरा भन्छु, ठिक्क पार्न म जान्दछु। 
कथा उनेर सर्लक्कै, आँशु झार्न म जान्दछु।। (३) 

आँसु देखेर ऊ रुन्छ, रुँदै ऊ श्रम गर्दछ। 
त्यो बाठो आँसु टिपेर, कथा सामग्री भर्दछ।। 
थाहा छ बाँच्नको लागि, चाहिन्छ खाटी के कुरा। 
तर त्यो गर्न सक्दैन, ऊ ज्ञानी छट्टु छ पुरा।। (४)

ज्ञानको धाकमा चम्क्या, शिल्पी झैं उँचो ठान्दछ। 
उनैका गीत लेखेर, उनैको योद्धा ठान्दछ।।
ती बरा सादगी बाँच्ने, ती आफ्नै गीत गाउँछन्। 
छट्टुका कल्पना बाँची, खै कसरी रमाउँछन्।। (५)
-(अप्रिल २४, २०२२ । टोरन्टो)

भाषण लाश माथि मेरो

मन भरी पीडा बोकी चस्काउँदै छाती मेरो 
लैबरी मै विदेश गा थें को थियो र साथी मेरो 
पाए पनि केही काम पुगेन खै स्वदेशमा 
अप्ठेरोमा ल है भन्ने थिएन क्वै माथि मेरो 
मान्छे जातै असन्तोषी भन्नु होला पुग्छ के ले 
धरोधर्म रित्तो भा थ्यो मानो संगै पाथी मेरो 
होला त नि सबै गा छन् सोचें मैले भारी मनले 
काढें ऋण साहुसँग जाएजेथो राखी मेरो 
न क्यै सीप सिक्या रैछु न बुझ्दथें भाषा पूरा 
यसै फुत्त उफ़्रिएछु पुगेन कि भाँती मेरो 
स्वदेशमै ठगिएको के कुरा भो विदेशको 
काटिदियो नियतिले जिन्दगीको बाती मेरो 
बाँचुन्जेल नपाएको ध्यान, मान पाउँदो रैछु 
बाकसमा सजाएर ल्याए लाश राखी मेरो 
भएको त्यो सानो एउटा बारी पनि जाकटी भो 
साहुजीको ऋण कस्ले तिर्ला लाश माथि मेरो 
आश्रितको आश माथि सार्है ठूलो ढुङ्गो लाग्यो 
झन्डाहरु ओढाएर भाषण लाश माथि मेरो

मन झुन्ड्याउने काँटी 

नसकी मन यो मार्न, सिकेछु हार्न यो सित। 
घुम्दै डुल्दै यसै साथ, लगाई मीत यै सित।।
जसै यो चर्न दौडिन्छ, देखाई लोभ लालच। 
गुडुल्केर उतै पुग्छु, मान्दै सङ्कोच किञ्चित।

सोच्दछ ती सबै मीठा, होलान् अप्राप्त जे जति। 
जसै प्राप्त हुँदै जान्छन्, लाग्न थाल्ने फिका कति!
कसैले सोधनी गर्दा, हौ कस्तो छ त जिन्दगी ?
फिस्स हाँसेर भन्दियो, ठिक्ठाकै छ त जिन्दगी।।

गार्हो छ जिन्दगी भन्दा, खै सुन्ने कसले यहाँ। 
आ-आफ्नै मनका भारी, होलान् बिसाउने कहाँ?
लौ भन सुन्छु म भन्दै, कोही आएछ नै भने। 
लबस्तरा कुरा मन्का, कस्लाई किन सुनाउने?

तर यो मन मान्दैन, ठिकै छ जिन्दगी भनि। 
साखुल्ले बन्न जान्या छ, व्यथा चोट सहे पनि।।
साखुल्ले मनको भाव, छैन त्यो अनुमोदित। 
मन यो  जुक्ति बुद्धिले, हुन्न रैछ प्रमोदित।।

यो बेश्या मनको वृत्ति, सकारेर म बस्नु र? 
डेरा शरीरको सुम्पी, यसै भित्र म फस्नु र? 
यी यस्ता मनका हर्कत्, हेर्दो छु म निरन्तर।
सुनामी मनको आई, गर्दिन्छ विषयान्तर।।

गहिरो सोचमा पर्छु, सोच नै विध्न बन्दछ। 
सोच्न यो मन छोड़दैन, मालिकै म हुँ भन्दछ।।
मन झुन्ड्याउने काँटी, खोज्नु पर्ने भयो अब। 
नहल्लिने गरी काँटी, ठोक्नु  पर्ने भयो अब।।

डिसेम्बेर २५, २०२२ टोरन्टो

सम्बन्धहरु 

साध्य छैन समय चक्रमा 
लेखाजोखा गर्नस्वार्थमा या निस्वार्थमा सजिव सँग या निर्जीव सँग 
नजिकका सँग या टाढाका सँग 
बनिएका बनाइएका 
अगणित सम्बन्धहरुको।

सम्बन्धहरु कतिपय तरल
हुँदारहेछन्
एकदमै चालायमान 
सवाधानिमा असावाधानीमा
कहिले कसको कहिले कसको
हातबाट
फुत्त खस्छ यौटा ढुङ्गो
सम्बन्धको तलाउमा 
या चुँडालेर मालाबाट फूल 
या गढ़छ मनभित्र एक शूल 

उद्वेलित मनको अदालत 
सुनाउँछ फैसला एक या अनेक
बिर्सेर अन्य आयामहरु सम्बन्धका
आजीवन कारावास या मृत्युदण्ड
या अन्य कुनै सजाय। 

मनको तलाव केही स्थिर भएपछि
लाज लाग्न सक्छ
पश्चाताप  हुन सक्छ 
निर्दोषको हत्या कल्पनाको 
जब चिरफार हुन्छ
सम्बन्धका मजबुनहरुको। 

September 26, 2021 Toronto


					

प्रार्थना

प्रार्थना प्राप्तिका लागि, अभावै मात्र रैछ झैं। 
केही पाए अहंकार, नपाए क्षुद्रता सधैं।।
जे जो छ सृष्टिमा व्याप्त, पाएको ठानी तेत्तिकै। 
बिर्सिएर कसैले ता, गरेको त्याग निश्चितै।।

धर्ती घाम र पानी छन्, वायू आकाश छन् ता नि। 
यी पाँच तत्वको मूल्य, तिर्न सक्तैन क्वै पनि।।
खै कति धन जोड्ने हो, गरी व्यापार श्वाशको। 
सृष्टिको अंग बन्नु नै, के छैन अझ खास त्यो।।

शब्दमा सुख खोज्दैमा, जाकिएको रसातल। 
वादमा सत्य पर्गेल्दै, नियाल्दै ज्ञान जंगल।।
मनै हो अति दौडिन्छ, के खोज्न कति सम्म हो। 
कहीं पुगिन्न पक्का भो, घोडा चढेर शब्दको।।

भो भयो अब दौडन्न, शब्द जाले यि जंगल। 
प्रार्थना प्राप्तिको छाडी, लोकको शुभ मङ्गल।।

-टोरन्टो अन्टेरियो, २७ जुन २०२१