सबैका कथा छन् सबैका व्यथा छन्।
कथा मै जुट्या छन् कथा मै फुट्या छन्।।
कुनै रङ्ग भर्छन् त सङ्गीत कोही।
कुनै काव्यधारा रङमन्च कोही।।
कथा कल्पना सीप शिल्पी हजार।
छ संसारको यो अनौठो बजार।।
उडें माथि कोशौं धरा ओर्लनू ता।
छँदै थ्यो भएको कथा लेखिनु ता।।
पखेटा पलाए र जो उडे अकास।
कुना कन्दरामा चलाए बतास।।
सँगै बस्न गाह्रो छ छुट्टिन गाह्रो।
बताउँ भने यो छ लाजै पसारो।।
गुँडै भत्किएको चरी झैं छ हाल।
छ मानो यता मन् पुगी गो हिमाल।।
बनेको छ सेतू नछोई किनारा।
न उँभो छ जोड्ने न उँधो इसारा।।
म चिन्डो भिरैको जसै लाग्न थाल्यो।
भयो के भनी चिन्तन जाग्न लाग्यो।।
सकारेर मिथ्या म बाँचीरहेको।
नकारेर सत्य म नाँचीरहेको।।
उकाली र द्यौरालि संधै घुमेका।
अनायास स्वस्फूर्त प्रेम्ले चुमेका।।
भए छोडिएका मनै तोडिएका।
कतै स्वार्थले मार्ग त्यो मोडिएका।।
जती पल्ट फेरा लगाउँ म विश्वको।
जती पल्ट ध्यानै लगाउँ म ईशको।।
यही एक ठाडो छ प्रश्न मलाई।
घिसार्दै छ दिन्दिन यस्ले गलाई।।
स्वदेशै नछामी नचिनी हिंडे कि!
म बाँच्नै नजानी नपर्खी हिंडे कि !
-मार्च २५, २२३ टोरन्टो
