जिन्दगी

भाषाका भाव भंगिमा, उतारेर मनोदशा । 
जोगाउँदै सकेसम्म, शब्द सृजनको नशा ।।

वहाँदेखि यहाँ सम्म, मिलौं टाढा सुदूरको। 
धर्तीमा पंख फैलाई, शिल्प सिक्दै मुजूरको।।

लालसा छोड्न सक्तिन, रक्षा खातिर स्वत्वको । 
उनेर शब्दका माला, फेर्दै सास् अपनत्वको ।।

जिन्दगी खेल हो भन्छन्, खेल्दैछौँ मस्त चालमा । 
भानुको सम्झना गर्दै, जुटेर हर सालमा ।।

जीत हार कथा बन्छन्, जिन्दगीमा र खेलमा। 
यी भन्दा पर्तिर छुट्टै, सुख शान्ति छ मेलमा।।

मेल होस् मसँग मेरै, नटाढिउँ म मैसँग। 
म मेरो सासको साक्षी, दुख सुख दुवै सँग।।

मीठो सन्दर्भ भानुको, गर्ने आत्म निरीक्षण । 
सच्चिन सिक्न क्यै राम्रो, न्यास ध्यान सुलक्षण ।।

दुख मेट्नु भन्या सास, मेट्नु रैछ बुझौं कुरो । 
गर्दिनु दुख स्वीकार, मेट्नु पर्दैन क्यै कुरो ।।

July 27, 2025

Leave a Reply