तृष्णा

तृष्णाको पिंजडा भित्र, तृष्णामै मुख छोप्दछु । 
तृष्णा कै जल सिंचेर, तृष्णाकै रुख रोप्दछु।।

जरा भित्र पुगे यस्का, लटरम्म फलैफल।
यसैका फेदमा बस्छु, यसैको ध्यान हरपल।।

ज्ञानको उकेरा हाली, ढल्न म दिन्न यो घर।
बटुलेर अहंकार, ढाक्दछु मनका डर।।

जति बर्ष बिते उत्ति, तृष्णा बन्दो छ जब्बर।
मखलेल बनेको छु, यसैको काटि चक्कर।।

सारा उर्जा यसैमा छ, यसैमा जोश जाँगर।
यसैमा गीत क्रान्तिका, यसैमा भव सागर।। 

यसैमा लैबरी भाका, यसैमा काव्य संगीत।
यसैमा सपना बुन्ने, यसैमा मनका मित।।

मेरो वैभव भन्नु नै, तृष्णाको पिंजडा न हो।
बहाना मात्र हुन् बाँकी, तृष्णा नै सेतु आशको।।

यी मेरा शब्दका माला, त्रिष्णाकै अभिव्यक्ति हुन्। 
तृष्णाको  घर बारीका, सम्पत्ति अति प्रिय छन्।।  

Leave a Reply